सोमबार ८ भाद्र, २०८३ (Monday August 24, 2026)

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा हिउँ चितुवाको संख्या बढ्दो

बुधबार ७ कार्तिक, २०८१ nepalexplores 1594


कञ्चनजङ्घा संरक्षण क्षेत्रमा हिउँ चितुवाको संख्या बढ्दो

७ कात्तिक, काठमाडौं ।

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेको पाईएको छ। 

कञ्चनजङ्घा संरक्षण क्षेत्रमा १३ वयस्क हिउँ चितुवा रहेको एघारौँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसका अवसरमा आयोजित हिउँ चितुवा गणनासम्बन्धी सर्वेक्षण प्रतिवेदनमा सार्वजनिक गरिएको हो। 

वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभाग र वन तथा भू–संरक्षण विभागले आज आयोजना गरेको कार्यक्रममा सन् २०२४ अप्रिल ४ देखि जुन २ तारिखसम्म कञ्चनजङ्घा संरक्षण क्षेत्रमा गरिएको हिउँ चितुवा सर्वेक्षणको नतिजा सार्वजनिक गरिएको हो। 

सो प्रतिवेदन अनुसार कम्तीमा नौ र बढीमा २४ को सङ्ख्यामा हिउँ चितुवा रहेको जनाइएको छ। विभागले वैज्ञानिक एवं विश्वसनीय अध्ययन विधिको प्रयोग गरी हिउँ चितुवाको राष्ट्रिय सर्वेक्षण गर्ने उद्देश्यले क्यामरा ट्याप गरी विभिन्न हिमाली संरक्षित क्षेत्र तथा वन क्षेत्रमा गणना थालनी गरिएको थियो।
 
वन तथा भू–संरक्षण विभागका महानिर्देशक शिव वाग्लेले उच्च हिमाली क्षेत्रमा मात्र पाइने हिउँ चितुवा नेपालको हिमाली क्षेत्रमा पाइनु सफलताको विषय रहेको बताउँदै यसले नेपाललाई विश्व समुदायमा चिनाएको उल्लेख गरेका छन्।

यस अघि डोल्पा क्षेत्रमा हिउँ चितुवा गणनाको नजिता सार्वजनिक गरिएको थियो। डोल्पामा ९० हिउँ चितुवा रहेको पाइएको छ। दिवसका अवसरमा आजै डोल्पा राष्ट्रिय निकुञ्ज अन्तर्गत पूर्व (वन क्षेत्र)को हिउँ चितुवा अध्ययन प्रतिवेदन लोकापर्ण गर्नाका साथै डोल्पा राष्ट्रिय निकुञ्जभित्र खिचिएका जङ्गली याकको फोटो फ्रेम अनावरण गरिएको छ।

हिउँ चितुवा नेपालको समग्र रुपमा बढी संरक्षित क्षेत्रले ओगटेको हिमाली एवं उच्च पहाडी प्राकृतिक बासस्थानको खाद्य शृङ्खलामा सबैभन्दा माथि रहनाका साथै स्वस्थ पारिस्थितिकीय प्रणालीको सूचकका रुपमा रहेको छ।

विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ। विश्वमा हिउँ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ।


 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु