बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

थारू समुदाय जुट्यो माघीको तयारीमा 

आईतवार २८ पुष, २०८१ nepalexplores 1510


थारू समुदाय जुट्यो माघीको तयारीमा 

२८ पुस, काठमाडौं । 
थारू समुदाय माघीको तयारीमा जुटेका छन्।

पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्दै आएका थारू समुदायको बस्तीमा माघी पर्वको तयारीले छपक्कै छोपेको छ। नयाँ वर्ष आरम्भको रूपमा मनाइने माघी पर्व उल्लासका साथ तयारीमा थारू समुदाय जुटेका छन्।

माघी पर्व नजिकिएसँगै कैलाली, कञ्चनपुर लगायत थारू बस्तीमा चहलपहल बढेको छ। पुरुषहरू मासुको जोहो गर्न गाउँगाउँ धाइरहेका छन् भने महिलालाई दुना, टपरी बनाउन व्यस्त छन्।

पर्वको तयारीका लागि विशेषगरी अन्डी धानको चामल, पिठो लगायत खाद्यान्नको जोहो गर्ने, दुनाटपरी गाँस्ने, जङ्गल गई दाउरा सङ्कलन गर्ने, तोरीको तेल पेल्ने, घर लिपपोत तथा आँगन सरसफाई लगायत कार्य धमाधम भइरहेको थारू नागरिक समाजका संयोजक दिलबहादुर चौधरीले बताएका छन्।

रोजगारीका लागि विदेशिएकाहरू पर्व मनाउन घर फर्कन थालेका संयोजक चौधरीले बताए। माघीमा पाहुना धेरै जम्मा हुने भएकाले ढिक्री, रोटी लगायत खानाका परिकार तयार गर्न महिला व्यस्त छन्।

थारू समुदायको मुख्य पर्व भएकाले तामझामका साथ मनाउने तयारी भइरहेको कैलालीको गोदावरी नगरपालिका–७ फकलपुरका माधव चौधरीले बताएका छन्।

माघे सङ्क्रान्तिका दिन विशेषगरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी तलाउमा गई नुवाइधुवाई गरी आफूभन्दा ठुलाबाट आर्शीवाद लिने चलन छ। थारू समुदायका विभिन्न लोकसंस्कृति झल्किने एकल तथा सामूहिक नाचगान गरी रमाइलो गर्ने गरिन्छ। 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु