बुधबार १० भाद्र, २०८३ (Wednesday August 26, 2026)

बुटवल सिद्धबाबा सुरूङमार्ग निर्माण तीव्र 

शनिबार २८ असार, २०८२ nepalexplores 1342


बुटवल सिद्धबाबा सुरूङमार्ग निर्माण तीव्र 

असार २८ काठमाडौं ।
बुटवल सिद्धबाबा सुरुङमार्ग निर्माण तीव्र गतिमा अगाडि बढेको छ। बुटवल दोभान सडक खण्डको सिद्धबाबामा निर्माणाधीन सुरुङ मार्गको निर्माणको कामले पछिल्लो समय गति लिएको हो।

ठेक्का सम्झौता अनुसार २०८३ सालभित्र सुरूङमार्ग निर्माणको काम पूरा गरि सक्नुपर्ने आयोजना ५७.५१ प्रतिशत भौतिक निर्माणको काम पूरा भएको जनाएको छ। पाँच वर्षमा निर्माणको काम सक्ने गरी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग २०७८ साल फागुनमा ठेक्का सम्झौता भएको थियो।

सिद्धार्थ राजमार्ग अन्तर्गत तल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको तिनाउ गाउँपालिका–३, दोभानसम्मको करिब ५ किलोमिटर क्षेत्रमा बाह्रै महिना पहिरो झर्ने क्षेत्र पर्ने तथा सडकदेखि तल तिनाउ नदी तर्फ अप्ठेरो भीर सहितको छाँगो र माथितर्फ अग्लो चट्टान सहितको पहाड भएकोले सुख्खा पहिरोको जोखिमलाई मध्यनजर गरी सरकारले सुरक्षित आवागमनका लागि सुरुङ मार्ग निर्माणको योजना अघि बढाएको थियो।

एक हजार १२६ मिटर लम्बाइको मुख्य सुरूङमार्गमा हालसम्म ९१८.८ मिटर लाइनिङको काम सकिएको, तीनवटा बाइपास सुरूङको इन्भर्ट र लाइनिङको काम पनि पूरा हुने क्रममा रहेको, १५१ मिटर लम्बाइको पहिलो बाइपास सुरूङमा १४५ मिटर इन्भर्ट र १२४ मिटर लाइनिङको काम पूरा भएको जनाएको छ। 

१३० मिटर लम्बाइको तेस्रो बाइपास सुरूङको १२५ मिटर इन्भर्ट र ४२.९ मिटर लाइनिङको काम पूरा भएको, १६१ मिटर लम्बाइको दोस्रो बाइपास सुरूङमा ४६.५ मिटर लम्बाइमा इन्भर्टको काम पूरा भएको जनाएको छ। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरूङमार्ग निर्माणको काम गरिरहेको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु