मंगलवार २२ बैशाख, २०८३ (Tuesday May 05, 2026)

आयल निगम पुग्यो टाट पल्टिने अवस्थामा, प्रधान कार्यालयको जग्गा धितो राख्ने तयारी

बुधबार १५ असार, २०७९ Nepalexplores 1393


आयल निगम पुग्यो टाट पल्टिने अवस्थामा, प्रधान कार्यालयको जग्गा धितो राख्ने तयारी

काठमाडौ । नेपाल आयल निगमको आर्थिक स्थिति नाजुक बन्दै गएको छ । पेट्रोलियम पदार्थको बक्यौता रकम तिर्न नसकेपछि निगमले प्रधान कार्यालय र त्यसले चर्चेको जग्गा धितो राखेर ऋण लिन लागेको हो ।

टेकुस्थित प्रधान कार्यालय बनाउन किनिएको जग्गा धितो राखेर तीन अर्ब रुपैयाँ ऋण लिन लागेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । भारतीय आयल निगम (आइओसी) लाई बक्यौता रकम बुझाउन नसकेपछि ४२ रोपनी जग्गा धितो राख्न लागेको उनको भनाइ छ ।

निगमले तीन महिनाअघि यसका लागि अर्थ मन्त्रालयसँग अनुमति मागेको थियो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, अर्थमन्त्री जर्नादन शर्मा, योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, मन्त्रालयका सचिव र निगमका कार्यकारी निर्देशकसहित गत सोमबार बसेको बैठकले धितो राखेर ऋण निकाल्न अनुमति दिएको होे ।

अर्थ मन्त्रालयको जमानीमा निगमले राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिन लागेको हो । प्रवक्ता उपाध्यायकाअनुसार सो पत्र निगमले प्राप्त गरेको छ । निगमले आईओसीलाई बुझाउनुपर्ने बक्यौता रकम २२ अर्ब रुपैयाँभन्दा बढी छ । चालू वर्षको ११ महिना अर्थात् जेठसम्म निगमले ४९ अर्ब ५० करोड रुपैयाँ घाटा व्यहोरेको छ ।

निगमले सात अर्ब माग गरे पनि अर्थले तीन अर्ब रुपैयाँका लागि अनुमति दिएको हो । तर उक्त रकम हात्तीको मुखमा जिरा भएको प्रवक्ता उपाध्याय बताउँछन् ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु