सोमबार १ असार, २०८३
१ असार, काठमाडौं ।
चितवन राष्ट्रिय निकुञ्जमा हुर्केको २३ सय बढी गोही नदीमा छाडिएको छ ।
पछिल्लो ४५ वर्षयता चितवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन् केन्द्रमा हुर्काइएका २ हजार ३१५ गोहीलाई नदीमा छाडिएको हो ।
प्रजनन् केन्द्रका अनुसार सन् १९८१ यता विभिन्न आठ वटा नदीमा ती गोहीलाई छाडिएको जनाएको छ । केन्द्रका अनुसार राप्ती नदीमा सबैभन्दा बढी १ हजार ५६० वटा गोही छाडिएको जनाउको छ ।
निकुञ्जका सूचना अधिकारी अबिनास थापा मगरका अनुसार केन्द्रमा हुर्काइएका हालसम्म नारायणी नदीमा ४१९, सप्तकोशीमा ११५, बबहीमा ११०, कर्णालीमा ४१, कालीगण्डकीमा ३५, शुक्लाफाँटाको चौधारामा २५ र बाँकेको राप्तीमा १० वटा गोही छाडिएको जनाएको छ।
सन् २०२१ र २०२२ मा सङ्कलन भएका अण्डा बाट कोरलिएका गोही यस वर्ष छाडिएको हो। हाल प्रजनन् केन्द्रमा ५०० वटा गोही छन् । यस वर्ष सङ्कलन गरिएको १९६ अण्डा बाट १४६ बच्चा कोरलियका छन् । भने घडियाल गोही सङ्कटापन्न अवस्थामा पुगेको सरीसृप प्राणी हो ।
विगतमा पाकिस्तान, बङ्गलादेश, भुटान, म्यानमार लगायतका देशहरूमा समेत पाइने गरेको घडियाल अहिले नेपाल र भारतमा मात्रै पाइन्छन् ।
सन् १९४० को दशकमा यसको सङ्ख्या विश्वमा १० हजार जति रहेको पाइन्छ । सन् १९७० मा त्यसको २ प्रतिशत मात्रै सङ्ख्या अस्तित्वमा रहेको पाइए पछि संरक्षणमा चासो बढेको संरक्षणकर्मीले बताएका छन् ।
चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल प्रजनन् केन्द्र स्थापना गरिएको थियो ।