मंगलवार ९ भाद्र, २०८३
९ भदौ, काठमाडौं ।
वीरगञ्जको चिनी मिल २७ वर्षपछि पुनः सञ्चालनमा ल्याउने तयारी गरेको छ ।
बन्द अवस्थामा रहेको वीरगञ्जको चिनी मिललाई सरकारले २७ वर्षपछि पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको हो ।
सरकारले बन्द अवस्थामा रहेका उद्योगहरूलाई पुनर्जीवन दिने अभियान अन्तर्गत हेटौँडा कपडा उद्योग पछि अब वीरगञ्ज चिनी कारखाना पनि सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ ।
२६ वर्षपछि हेटौँडा कपडा उद्योग परीक्षण उत्पादनको चरणमा पुगेसँगै सरकारले वीरगञ्ज चिनी मिललाई पनि पुनः सञ्चालनमा ल्याउन तदारुकता देखाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विशेष पहलमा २७ वर्ष देखि ताला लागेको ऐतिहासिक वीरगञ्ज चिनी मिलको पुनः सञ्चालनका लागि सम्भाव्यता अध्ययन सुरु गरिएको जनाएको छ ।
अध्ययनका क्रममा मन्त्रालयद्वारा गठित एक प्राविधिक कार्यदलले आज कारखानाको स्थलगत निरीक्षण गरेको छ ।
निरीक्षणका क्रममा कार्यदलले कारखानाको वर्तमान भौतिक संरचना, पुराना मेसिनरी तथा उपकरणहरूको अवस्था र मर्मतसम्भार गरेर चलाउन सकिने सम्भावना बारे विस्तृत प्राविधिक मूल्याङ्कन गरेको जनाएको छ ।
सीडीई श्रीकान्त यादवको संयोजकत्वमा गठित उक्त कार्यदललाई मिलको अवस्थाबारे गहन अध्ययन गरी आगामी १५ दिनभित्र विस्तृत प्रतिवेदन सरकारसमक्ष पेस गर्न समयसीमा तोकिएको छ ।
कार्यदलको प्रतिवेदन आएपछि मिल सञ्चालनको ठोस खाका र प्रक्रिया अघि बढाउने मन्त्रालयले जनाएको छ ।